नेपालमा बीमाको पहुँच २७% पुग्यो, लघुबीमा लेखको संख्या ३ लाख नाघ्यो

2021-02-09
नेपालमा बीमाको पहुँच २७% पुग्यो, लघुबीमा लेखको संख्या ३ लाख नाघ्यो

काठमाण्डौ । नेपालमा बीमाको पहुँच २७ प्रतिशत पुगेको छ। अर्थ मन्त्रालयले आज(मंगलबार) प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकनमा नेपालमा बीमाको पहुँच विस्तार भएको देखिएको हो। 

आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकनका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म वैदेशिक रोजगारमा गएका नेपालीहरुको निम्ती जारी गरिएका बीमालेख समेत गणना गर्दा ७७ लाख २५ हजार २ सय ७४ बीमालेख बिक्री भई बीमामा पहुँच २७ प्रतिशत पुगेको हो। नेपालमा रहेका २३ प्रतिशत र विदेशमा गएका ४ प्रतिशत गरी कुल २७ प्रतिशत जनतामा बीमा पहुँच पुगेको देखिएको हो

आर्थिक वर्ष २०७६/७७ सम्मको पुस महिनासम्म १७ प्रतिशत रहेको बीमा पहुँच २७ प्रतिशत पुगेको हो। बीमा समितिका तथ्यांक अनुसार आ.व २०७४/७५ मा बीमाको पहुँच १४ प्रतिशत रहेको थियो। 

यस्तै समिक्षा अवधिमा बाली तथा पशुपन्छी बीमा कार्यक्रम अन्तर्गत लाग्ने बीमा शुल्कको ५० प्रतिशत बीमा शुल्क नेपाल सरकारबाट अनुदान दिने व्यवस्था सहितको बाली तथा पशुपन्छी बीमा निर्देशिका २०७७ जारी भई कार्यान्वयनमा आएको छ। 

यस्तै बीमा दाबी व्यवस्थालाई सहज र सरल बनाई तोकिएको समयभित्र भुक्तानी सुनिश्चीत गर्न बीमा दाबी भुक्तानी मार्गदर्शन जारी गरिएको छ। 

समीक्षा अवधिसम्ममा कृषि बीमाको कुल बीमालेख संख्या ९३ हजार ७ सय ७७ पुगेको छ। यसैगरी लघुबीमाको बीमालेख संख्या ३ लाख १५ हजार ६ सय ७१ पुगेको छ। 

अर्धवार्षिक मूल्यांकन कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा म्याद समाप्त बीमालेखको म्याद थप गर्नुका साथै पत्रकारको दुर्घटना बीमा गरिएको समेत जानकारी गराइएको छ।   

 


Share this with your friends: