काठमाण्डौ । यो वर्ष बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको २ करोड ७९ लाख कित्ता आईपीओ निष्कासन गरेका छन्। बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न बीमा समितिले दिएको निर्देशन बमोजिम बीमा कम्पनीहरुले आईपीओमार्फत पूँजी वृद्धि गरेका हुन्।
निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब पुर्याउनु पर्ने बीमा समितिको प्रावधान अनुसार कम्पनीहरुले पूँजी वृद्धि गर्नतर्फ लागेका हुन्। पूँजी वृद्धि गर्दा बीमा कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नुपर्ने प्रावधान छ।
यो वर्ष ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा गरी कुल ६ वटा बीमा कम्पनीले आईपीओ जारी गरेका छन्। यो वर्ष आईपीओ जारी गर्ने बीमा कम्पनीहरु यस प्रकार रहेका छन् ः
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडः बीमातर्फ यो वर्ष आइपीओको सुरुवात अजोड इन्स्योरेन्सले गरेको थियो। आईपीओ निष्कासनका लागि अजोड इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डलाई गत असार ७ गते अनुमति प्रदान गरेको थियो।
बार्डबाट अनुमति प्राप्त गरेपश्चात कम्पनीले असार २५ गतेबाट आईपीओ निष्कासन गरेको थियो। कम्पनीले ३० करोड रुपैयाँको रु १०० अंकित दरका ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको थियो। बाँकी रहेको २७ लाख ३० हजार कित्ता भने आम सर्वसाधाकारणका लागि निष्कासन गरिएको थियो। आईपीओ निष्कासन असार २९ गते बन्द गरिएको थियो। यो आईपीओमा ४ लाख ९८ हजार ६४९ आवेदकबाट १ करोड ८० लाख ५८ हजार ९३० कित्ता सेयरका लागि आवेदन परेको थियो।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ः रिलायन्स लाइफले गत भदौ ४ गतेदेखि ६३ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो। सर्वसाधारणका लागि बाँकी ५६ लाख ७० हजार कित्ता निष्कासन गरिएको थियो। आईपीओ निष्कासन भदौ ८ गते बन्द गरिएको थियो। यो आइएपीओमा ५ लाख ८९ हजार ४६४ आवेदकबाट २ करोड २९ लाख २६ हजार ०१० कित्ताका लागि आवेदन परेको थियो।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडःनेपाल धितोपत्र बोर्डले सानिमा जनरल इन्स्योरेन्सलाई गत असोज ५ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो। कम्पनीले असोज २१ गतेबाट आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि निष्कासन गरिएको थियो। यो कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९०५ आवेदन परेकोमा १ करोड ८५ लाख ९१ हजार ५२० कित्ताका लागि आवेदन परेको थियो।
जनरल इन्स्योरेन्स नेपाल कम्पनी लिमिटेड ः जनरल इन्स्योरेन्सले गत असोज ११ गतेदेखि १४ गतेसम्म ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडः प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। यो आईपीओको निष्कासन पुस २ गते बन्द गरिएको थियो। यो आईपीओमा १० लाख ८२ हजार १४३ आवेदन परेको थियो।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडः ज्योति लाइफलाई आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डले गत फागुन ७ गते अनुमति प्रदान गरेको थियो। कम्पनीले गत फागुन २३ गतेबाट ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ९० प्रतिशत अर्थात ५९ लाख ४० हजार कित्ता सेयर भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
बीमा समितिको निर्देशन बमोजिम अब सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ, रिलायबल लाइफ, सानिमा लाइफ, सन नेपाल लाइफ र युनियन लाइफले पनि आईपीओ निष्कासन गरि समितिद्वारा निर्धारण गरिएको चुक्तापूँजी पुर्याउने तयारीमा जुटेका छन्।