काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘आरबीबीएल डिबेन्चेर, २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
बैंकले प्रतिइकाइ अंकित मूल्य रु। १ हजार दरले कुल ५ अर्ब रुपैयाँ (५० लाख इकाइ) मूल्यबराबरको १० वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो। आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ।
यो ऋणपत्रको कुल ५० लाख इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट संगठित संस्थाहरुलाई बिक्री गरिनेछ भने २० लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ।
केयर रेटिङ नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाका रुपमा रहेको संकेत गर्ने केयर–एनपी ए प्लस ९आईएस० रेटिङ प्रदान गरेको छ।
बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।